जनकपुरधाम, २४ जेठ । जनकपुरधाममा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् ।

जेठ १७ गतेदेखि हराइरहेका सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा टेन्ट तानेर बस्दै आएका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही मृत अवस्थामा फेला परेका हुन् ।

बालक बरहीको शव जनकपुरधाम उपमहानगरपालिका–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ को सिमानामा पर्ने वसविट्टीस्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । हराएकै दिन कसैले उनको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

मृत बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको र घटना विषयमा थप अनुसन्धान भईरहेको डीएसपी क्षेत्रीले बताए ।

सर्लाहीको कविलासी नगरपालिका–७ घर भएका घुमन्ते समुदायका बालक बरहीको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएका थिए ।

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरीमा जानकारी गराउँदै खोजविनका लागि आग्रह गरेका थिए ।