जनकपुरधाम, ४ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा अहिलेसम्म करोडौं रकम स्वाहा गरेपनि नगरभित्र लामखुट्टेको समस्या ज्यूँका त्यूँ छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्ष यता लामखुट्टे नियन्त्रणको नाममा ५० लाख भन्दा बढि रकम खर्च गरेपनि लामखुट्टे नियन्त्रण हुन सकेको छैन् ।

उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ ।

नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख २३ हजार १३१, २०७७/०७८ मा २३ लाख २४ हजार २२३ र चालु आर्थिक वर्ष २०७८/०७९ मा १३ लाख ३० हजार ५०२ रुपैयाँ उपमहानगरपालिका कार्यालयले खर्च गरेको उल्लेख छ ।

त्यसअघिका वर्षहरुमा पनि उपमहानगरले लामखुट्टे नियन्त्रणको नाममा लाखौं रकम खर्च गरिसकेको छ । यता, स्थानीयले भने लामखुट्टे नियन्त्रणको नाममा जनप्रतिनिधी र कर्मचारी मिलेर भ्रष्टाचार मात्रै गरिरहेको गुनासो गरेका छन् ।

स्थानीय उमेश सिंहले भने, ‘न जनकपुरधामको फोहोर कम भएको छ, न त लामखुट्टे नै नियन्त्रणमा आएको छ । यति ठुलो रकम खर्चेर जनकपुरधामको धेरै कुरालाई व्यवस्थित गर्न सकिन्थ्यो । तर, भिजन भए पो ।’

‘जुन जोगी आएपनि कानै चिरेको’ भनाईलाई यस्तै उदाहरणले चरितार्थ गरेको उनको दाबी छ ।