–रामभरोसी यादव
सिरहा, १ बैशाख । सिरहा जिल्लास्थित ऐतिहासिक स्थल राजा सल्हेसको मन्दिरमा प्रत्यक नयाँ वर्षमा लाग्ने मेला जस्तै यसवर्षको मेलामा पनि नेपालका विभिन्न जिल्ला र भारतीय श्रद्धालु दर्शनार्थीहरुको भिड लागेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिकाको पडरीयामा पर्ने सल्हेस फूलबारीमा साता अघिबाटै दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । आज विहानैबाटै सिरहा, सप्तरी, धनुषा, उदयपुर लागायतका दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।

दलित जातिमध्ये एक मात्र राजा भएका सल्हेसको इतिहास झल्किने सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीयको भनाइ छ ।

उहाँका सम्झनामा सिरहाको सभदैया गाविसस्थित पकरियागढ, गोविन्दपुरस्थित मानिकदह, सिसबनीस्थित सल्हेस फूलबारी, पतारीस्थित पताइर पोखरी र सिरहा नगरपालिका स्थित राजा सल्हेसको मन्दिरमा भोली मेला लाग्ने गर्छ । आज फूलबारी पतारीमा आएका भक्तजनहरु नै भोलीको मेलामा पनि सहभागी हुने चलन छ । पकडियागढ, मानिकदह, सल्हेस फूलबारीमा बैशाख १ गते र पताइर पोखरी र सल्हेस मन्दिरमा बैशाख २ गते तराइमा मनाइने जुडसितल पर्वका दिन मेला लाग्छ ।

यी प्रत्येक ऐतिहासिक तथा धार्मिक स्थलमा भएको राजा सल्हेसको मन्दिरमा दलित जातका मानिने राजा सल्हेसका सन्तती दुसाध अर्थात पासवान जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन उप्पलो जातका मानिसहरु पनि उनीहरुको हातबाट प्रसाद ग्रहन गर्नु यस मेलाको प्रमुख बिशेषता रहेको छ । मेला हेर्न आएका जुनसुकै जातका ब्यक्तिहरु छुवाछुतको भावना बिर्सेर श्रद्धा पूर्वक प्रसाद ग्रहन गरे पनि अन्य दिन भने पासवान जातीको शरीरमा छोएपछिउप्पलो जातका व्यक्तिहरु नुहाएपछि मात्र अन्न ग्रहन तथा आ–आफ्ना घरमा प्रवेश गर्ने परम्परा छ ।

राजा सल्हेसले आपूm भन्दा उप्पलो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसँग विवाह गर्न पटक पटक अस्विकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बीना पानीकै लगाएको बगैचा अहिले सल्हेस फूलबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ । सो बगैचामा रहेको सालको रुखमा प्रत्येक बर्ष बैशाख १ गते फूलको माला नै फूल्छन् । उक्त फूलनै सल्हेस फूलबारी मेलाको प्रमुख आकर्षण बनेको हुन्छ । अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसँग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह सुरु भएको किंबदन्ती रहेको छ ।

राजा सल्हेसले आफू भन्दा गरीब र मुस्हर जातका दिनाराम र भद्रीसँग मित्रता गरेदेखि विपन्नसँग मित्रता गर्नेसमेत परम्परा बसेको किंबदन्ति रहेको छ ।

यस्तै, पकरियागढका राजा कुल्हेस्वर सिंहकी छोरी चन्द्राबतीले पनि राजा सल्हेससंग विवाह गर्न जालझेल रचेर आप्mनो बुवामा नौकर भई काम गर्न राजा सल्हेसलाई बाध्य बनाएको र सोही क्रममा चोहरमल नाम गरेका चोरले गंगा नदीदेखि नै सुरुङ खन्दै राजा कुल्हेस्वर सिंहको घरमा चोरी गरेको किंबदन्ती रहेको छ । चोहरमलले खनेको सुरुङको भग्नावशेष हालसम्म रहेकोले पकरियागढ मेलाको सो सुरुङ प्रमुख आकर्षण बनेको हुन्छ ।

यस्तै, मानिकदहमा राजा सल्हेसले स्नान गर्ने गरेको अहिले सो दहमा स्नान गरेपछि जिउमा लागेको छाला सम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ ।

यस्तै, पताइर पोखरीमा मेलाका दिन बाझो महिलाले पोखरीमा पहिलो डुबुल्की लगाएपछि कुनै जीव हातमा आए छोराछोरी पाउने र निर्जिव बस्तु हातमा आए छोराछोरी नपाउने जनविश्वास रहेको छ ।

यस्तै, सिरहा नगरपालिकास्थित सल्हेस मन्दिर राजा सल्हेसको कुल देउताको रहेकोले पासवान जातीका ब्यक्तिहरु र तत्कालिन राजा सल्हेसको कुल देउता भएपछि आम जनताको देउता भएको भन्दै भारतको दरभंगासम्मका र नेपालका विभिन्न तराईका जिल्लाका श्रद्धालुहरु पूजा गर्न आउने गरेको बृद्धहरुको भनाइ छ ।

उक्त सल्हेस मेलामा सल्हेसको वीर गाथा सुनेर तथा लोक संस्कृती झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम गरी आज रातभरी जाग्राम रबस्ने परम्परा रहेको छ ।

लहान नगरपालिका वडा नम्बर–११ र २२ मा पर्ने सल्हेस फूलबारी १५ बिघा भन्दा बढिको क्षेत्र फलमा रहेको छ । सो क्षेत्रमा बाक्लो जंगल र त्यो जंगल भित्रको बिचभागमा मालिनीको मन्दिर रहेको छ ।