धनुषामा ३ हजार १२१ म्यादी प्रहरी छनोट, २८ गतेदेखि तालिममा सहभागी गराइने

जनकपुरधाम, २६ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी धनुषामा ३ हजार १२१ जना म्यादी प्रहरी छनोट गरिएको छ ।
जिल्लामा ९ हजार २१ जनाले आवेदन दिएकोमा ३ हजार १२१ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायउ उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
कूल आवेदकमध्ये ८७२ महिला र ८ हजार १४९ पुरुषले आवेदन दिएका थिए ।
म्यादी प्रहरीका लागि ८७२ जना महिलाहरूको आवेदन दिएकोमा ५३५ जनालाई छनोट गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।
छनोट भएका २ हजार ५८६ पुरुष र ५३५ महिलालाई चैत २८ गतेदेखि तालिममा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको थियो । भर्नाको आवेदनका लागि चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको थियो ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


