जनकपुरधाम, २४ चैत । धनुषामा बुधबार गोली प्रहार गरी युवकको हत्या गरेको घटनामा संलग्नमध्ये एक व्यक्ति २४ घण्टा नबित्दै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् ।

बुधबार हंसपुर नगरपालिका वडा नम्बर–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय रामको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले दिएको जानकारी अनुसार प्रहरी निरीक्षक बिक्रम साह नेतृत्वको अनुसन्धान टोली घटनास्थलमा खटि घटनास्थलको सुक्ष्म अनुसन्धान र बिभिन्न व्यक्तिहरुसँगको सोधपुछबाट विजय रामको घरमा चैत २२ गते राति उनका ३ जना साथीहरु पुगेर बाहिर घुम्न जाने बहानामा निस्केका थिए ।

घटनामा संलग्न हुन सक्ने आशंकाको आधारमा मनोजलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनी र उनका अन्य २ जना साथिहरू मिलेर विजयलाई गोली हानी हत्या गरेको कुरा खुल्नमा आएको एसपी रजौरेले बताए ।

घटनामा संलग्न ३ जना व्यक्तिहरुले विजयसँगको पुरानो रिसईबीले योजना बनाई हत्या गरेको कुरा अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए ।

पक्राउ परेका मनोज महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको र घटनामा संलग्न अन्य २ जनाको खोजतलास जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।