जनकपुरधाम, २४ चैत । शुक्रबारदेखि मधेस प्रदेशका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको छ ।

शुक्रबारदेखि २०७९ वैशाख १८ गतेसम्म सञ्चालन हुन लागेको टाइफाइड रोग विरुद्धको खोप अभियानअन्तर्गत यस प्रदेशका १३६ वटै स्थानीय तहमा टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।

यस प्रदेशका १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।

स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय कुमार झाका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार प्रदेशमा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो । पुर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

उनले भने,‘टाइफाइड दुषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।’

खोपबाट कोहि बालबालिका नछुट्ने गरी प्रदेशका सबै वडास्तरसम्मका विद्यालयहरुमा पनि खोप टोली परिचालन गरिने छ ।

मधेस प्रदेशको सप्तरी जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८०६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।

त्यस्तै, सर्लाही जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८१२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३०७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९२७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७८२ एवम् पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

मधेस प्रदेशमा ४ वर्षमुनीका ३ लाख ७३ हजार ९४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ ।

सरकारी तथ्यांकमा पछिल्लो पाँचवर्षको अवधीमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाईफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

टाइफाइड दुषित पानी र खानेकुराबाट संक्रमण हुने रोग मानिएको छ । प्रदेशका सबै बालबालिलाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक झा जानकारी दिए ।