जनकपुरधाम, २४ चैत । आज जनकपुरधामसहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ पर्व मनाइँदै छ ।

चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको तेस्रो दिन आज बर्तालुुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिन्छन् भने भोली शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।

व्रतालुहरुले ‘नहाय–खाय’ विधिबाट छठ पर्वको प्रारम्भ गरेका छन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन् ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ ।व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दशैँ) पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वसन्ती नवरात्र मनाइन्छ ।