सर्लाहीमा केही दिनदेखि बेपता रहेका एक बालकको शव सेफ्टी ट्यांकीमा फेला

सर्लाही, २४ चैत । सर्लाहीमा केही दिनदेखि बेपता रहेका बालकको आज शव फेला परेको छ ।
जिल्लाको मलंगवा नगरपालिका–१२ गम्हरिया बस्ने जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको हत्या गरेर सेफ्टी ट्यांकीमा फ्याकेको अवस्थामा शव फेला परेको हो ।
छिमेकीको घरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आइतबार राती गाउँमै न्वारानको भोज खान गएका बालक बेपता भएपछि परिवारजनले प्रहरीमा जानकारी गराएका थिए । खोजतलास गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी बुढाथोकीले बताए ।
बालकलाई खोजतलास गर्ने क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको र सोही क्रममा उनको शव फेला परेको उनले जानकारी दिए ।
बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


