जनकपुरधाम, २३ चैत । सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर–९ मा बुधबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।

महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालयको पछाडि पूर्वतर्फ अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।