जयनगर–जनकपुरधाम–कुर्था रेल : पहिलो दिन १ हजार ५ सय जनाले गरे यात्रा

जनकपुरधाम, २१ चैत । आइतबारदेखि नियमित सञ्चालनमा आएको जयनगर–जनकपुरधाम–कुर्था रेल्वेमा पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेका छन् ।
आइतबार पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
उनले पहिलो दिन यात्रुबाट भाडा स्वरुप ८० हजार रुपैयाँ आम्दानी भएकोसमेत बताए । रेल सेवा घाटामा नजान दैनिक कम्तीमा २ लाख रुपैयाँ आम्दानी हुनु पर्ने महाप्रवन्धक झाको भनाइ छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्ली स्थित हैदराबादबाट झण्डा हल्लाएर रेलको उदघाटन गरेका थिए ।
अहिले दैनिक दुईपटक ओहरदोहर गर्ने गरी रेल सञ्चालनमा आएको हो । पहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालनमा आएको छ ।
जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा समान्य टिकट ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।
महाप्रवन्धक झाले रेल दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको बताए । जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्नेछ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ मा अर्को रेल छुट्ने उनले बताए ।
लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर उत्साहित छन् । रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्टको व्यवस्था रहेको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर पर्छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताउँछन् । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ ।
एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए ।
डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले बताए ।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात ४५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको थियो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।
विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


