जनकपुरधाम, २० चैत । जनकपुरधाममा तिन दिवसीय ‘जनकपुर साहित्य–कला महोत्सव’ को आयोजना हुन लागेको छ ।

मैथिली विकास कोषको आयोजनामा यही चैत २३ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने बताएका छन् ।

महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष चौधरीले बताए ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको उनले बताए ।

मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना हुन लागेको उनले बताए ।

अध्यक्ष चौधरीले स्थानीय समाजलाई आफ्नो संस्कृतिप्रति सचेत, शिक्षित र सुसंस्कृत बनाउने प्रयत्नस्वरुप अरु भाषाभाषी वा सांस्कृतिक समूहहरुलाई र संसारका अन्य भागका कलाकर्मीलाई मिथिला संस्कृतिको विशिष्टताबाट परिचय गराउने र नेपालको आधुनिक रंगमञ्च, कला, संगीत, नृत्य वा साहित्य समृद्धिको लागि प्रयत्न गर्नु यस महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

उनले यस महोत्सवले समग्र नेपाली सभ्यतालाई समृद्ध तथा बहुआयामी बनाउने दाबीसमेत गरेका छन् । नेपालभित्रका विभिन्न सांस्कृतिक क्षेत्र र भाषा–भाषीबीच सांस्कृतिक सम्बन्धको विस्तार तथा स्वीकारोक्तिको संस्कार बलियो बनाउने उनको विश्वास छ ।

महोत्सवमा सम्भावित सहभागी नाटक ५ वटा समावेश गरिनेछ । त्यस्तै, सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विमर्शमा १० वटा सत्र हुने र त्यसमा १२० जना सहभागी रहने उनले जानकारी दिए ।

अध्यक्ष चौधरीले भने,‘नेपालको दोस्रो र मधेस प्रदेशको सबैभन्दा बढी बोलिने जनताको भाषा मैथिली हो । आठौँ शताब्दीदेखि साहित्य लेखनको निरन्तरता र सम्पूर्ण भारोपेली भाषा परिवारकै जेठो र समुन्नत भाषा मैथिली नेपाल तथा भारतमा बोलिनेहरुको ठूलो संख्या भए पनि हाल यस प्रदेशको राजधानी जनकपुरधाम मैथिली भाषा साहित्य र संस्कृतिको मुख्य केन्द्रको रुपमा स्थापित छ ।’

उनले थपे, ‘संसारभरिकै अध्येता, विद्वान्, सर्जक र कलाकर्मी जनकपुरधामप्रति चासो प्रकट गर्दछन् । आधुनिक कालमा पनि यहाँका लेखक, कलाकार र विद्वानहरुले अथक श्रम र सिर्जनात्मक प्रतिवद्धताका कारण जनकपुरधामलाई नेपालकै कला, साहित्य र बौद्धिक विमर्शस्थलको रुपमा कायम गरिराखेका छन् ।’

‘जनककालीन विमर्शको परम्परालाई जनकपुरधामले अहिले पनि अक्षुण्ण राखेको छ । दुई–दुई वर्षको अन्तरालमा मैथिली विकास कोषले अन्तर्राष्ट्रिय नाटक महोत्सव तथा साहित्य महोत्सवको आयोजना गर्दै आएको छ,’उनले भने,‘ विगतमा भव्य रुपमा यस्ता तीनवटा आयोजना कोषले सम्पन्न गरिसकेको छ ।’

नेपाल तथा भारतका विभिन्न विषय विज्ञलाई आमन्त्रण गरी जनसरोकारका विषयसहित राज्यको नीतिगत तहमा सुझाबसमेत विद्वान्बाट प्राप्त हुनेगरी विषय निर्धारण गर्ने गरिएको जनाइएको छ ।

साहित्य कलाका साथै अर्थ, कृषि, पर्यटन, वातावरणका साथै युवा, महिला र आम सञ्चारका क्षेत्रमा पनि उक्त महोत्सवमा गहन विमर्श हुने गरेको बताउँदै चौधरीले मैथिली विकास कोष मैथिली भाषाको समृद्धि र विकासको क्षेत्रमा निरन्तर कार्य गर्ने संस्था रहेको स्पष्ट पारे ।

महोत्सवमा नाटक प्रदर्शन, संगीत तथा नृत्य प्रदर्शन, मैथिली चित्रकला तथा हस्तकलाको प्रदर्शनी, पुस्तक प्रदर्शनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरुमा विमर्श गर्ने गरिएको उनले जानकारी दिए ।

यसअघि कोषले २०७३ सालमा पहिलो र २०७५ सालमा दोश्रो जनकपुरधाम साहित्य कला महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो ।