जनकपुरधाम, १८ चैत । लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुशी आफ्नो पाकेटको मान्छेलाई लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनितत गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

अध्यक्ष साहले विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरि आफूखुशी अध्यक्ष मनोनित गरेकोले विरोधस्वरुप आफूहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेको लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्राले बताए ।

उनले भने,‘हामी विद्यार्थी संगठनका नेताकार्यकर्ताको सल्लाह सुझाव विना नै जिल्ला अध्यक्ष नियुक्त गरेकोमा विरोध जनाउँदै आजदेखी निर्णय नसुधारिएसम्म पार्टी कार्यालयमा तालाबन्दी गरेका हौं ।’

‘सदैव विद्यार्थी हक अधिकार, समस्या, विभेद, अन्याय तथा अत्याचारको विरोधमा आवाज उठाउनुका साथै ०६३/०६४ को मधेस आन्दोलनदेखि अहिलेसम्म पार्टीको निर्देशन मानी हामी विभिन्न आन्दोलनमा आफ्नो ज्यान समेतको आहुती दिंदै आएका छौं,’उनले भने,‘तर कतै नै कतै राज्यले हामी मधेसी समदायसँग सौतेला व्यवहार गरे झैं आफ्नै पार्टीका शिर्ष पंक्तिले पनि विद्यार्थी संगठनका नेताकार्यकर्तासँग त्यही व्यवहार गर्दा हामी विद्यार्थी निरुत्साहित भएका छौं ।’

राजपा नेपाल गठन प्रक्रिया पश्चात पार्टी शिर्ष नेताको आपसी मतभेद र रसाकसीले हामी विद्यार्थी नेताको भविष्य अन्धकारमा राखेको बताउँदै विद्यार्थी नेता करण मिश्राले भने,‘विगत पाँच वर्षदेखि हामी विद्यार्थी नेताहरूलाई पार्टीले हाम्रो भविष्य बन्धकमा राखी हामीलाई हत्कडि लगाइ राखेको बुझाइ सबै माझ स्पष्ट छ । हाम्रो पार्टीको जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुशी आफ्नो पाकेटको मान्छेलाई हामी विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरि लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्ष मनोनित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्टी अध्यक्ष परमेश्वर साहले बिहीबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघ धनुषा जिल्लाको अध्यक्षमा मो.इजाज अन्सारीलाई मनोनित गरेका थिए ।