जयनगर–जनकपुरधाम रेल्वेको शनिबार उद्घाटन हुँदै, नेपाली यात्रीले पाँच नियमको पालना गर्नुपर्ने

जनकपुरधाम, १८ चैत । नेपालको एकमात्र रेल्वे शनिबारदेखि सञ्चालनमा आउन लागेको छ ।
शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल्वे सेवाको भर्चुअल रुपमा उद्घाटन गर्न लागेका हुन् ।
उद्घाटनाका लागि जनकपुरधामस्थित रेल्वे स्टेशनमा मञ्च निर्माणको काम पुरा भएको छ भने भारतको जयनगरमा रेल्वेलाई सजाउने कामसमेत पूरा भईसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।
उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले शनिवार दुई देशका प्रधानमन्त्रीले भर्चुअल रुपमा स्विच थिचेर रेल्वेको शुभारम्भ गर्ने बताइन् ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट चल्ने महाप्रबन्धक झाले भने ।
रेल्वे उद्घाटन पश्चात प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने उनले बताए । ‘अभिनन्दनका लागि हरेक स्टेशनमा छात्र–छात्राहरु नेपाल र भारतको झण्डा सहित रेल्वेमा आउनुहुन्छ’, उनले भने, ‘कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना गरिनेछ ।’

शनिवार उद्घाटन भएपछि आईतबारदेखि दैनिक रुपमा दुई पटक आउने जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताए । विहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने विहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । उनले यसरी नै रेल्वे नियमित रुपमा सञ्चालन हुने बताए ।
नेपाल सरकारले खरिद गरेको दुईसेट रेल फागुन १ गते देखि ‘ड्रायरन’ गर्दै आएको छ । सुरुमा दिनहु एक पटक चलाएपनि चैत १ गतेदेखि एक दिनको अन्तरालमा यात्रु विना सञ्चालन हुँदै आएको थियो ।
महाप्रबन्धक झाका अनुसार शनिबार हुने उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगरको रेल्वे स्टेशनमा प्रोजेक्टर जडानसहित सजाउने कार्य भइरहेको छ । जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम आयोजना गरिने छ । जनकपुरधाम रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसहित सहभागी हुनेछन् । भोली यात्रुले निःशुल्क चढ्न पाउने छन् ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् ।
भाडादर ७० देखि ३५० रुपैयाँसम्म निर्धारण
जयनगर–जनकपुरधाम–कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडा समेत निर्धारण गरिएको छ । नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म निर्धारण गरेको छ । जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको हो ।

त्यस्तै जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ भाडा निर्धारण गरिएको बताईएको छ ।
महाप्रबन्धक झाले टिकट अनलाईन र अफलाईन दुबैको व्यवस्था गरिएको जानकारी दिए ।
नेपाली यात्रीले ५ नियमको पालना गर्नुपर्ने
जनकपुरधाम जयनगर रेल्वेमा यात्रा गर्न नेपाली यात्रीले भारत जानका लागि ५ नियमको पालना गर्नुपर्ने भएको छ ।
रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राखेपछि मात्र प्रवेश दिइने भएको छ ।
सुरक्षा र खुला सिमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्यरुपले साथमा राख्नुपर्ने हुन्छ । रेलमा यात्रा गर्दा नेपाली हो भनेर परिचय खुल्ने गरी वैद्य नेपाली परिचयपत्र अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ ।

नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र अनिवार्यरुपले साथमा राख्नुपर्ने हुन्छ ।
त्यस्तै, आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दुतावासद्वारा जारी गरिएको फोटोसहितको सिफरिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएको छ । यस्तै, १० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुले आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ ।
यस्तो छ तयारी
१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।
पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो । अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यसअनुसार नै तयारी गरिएको छ ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भईरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

जसअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ ।
डिजेल ईलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावी गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रुले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।
रेलका बोडिङहरुको यात्रुले आफुसँग ल्याउने झोलाहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा लगाईएको छ ।

२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्यकता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


