जनकपुरधाम, १३ चैत । धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।

जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

शनिबार राति करिव साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

५० मिटर नजिकै रहेको तीनकौरिया प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ ।

सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको बताइएको छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

झडपमा परेर प्रहरीको तर्फबाट २ जना सामान्य घाइते भएको बस्नेतले जानकारी दिए । यद्यपि स्थानीयको तर्फबाट कोही पनि घाइते नभएको उनले बताए ।

यता पसलमा आगजनी भएको घटनापछि स्थानीय प्रदर्शनमा उत्रिएपछि अवस्था सामान्य बनाउनका लागि प्रहरी प्रशासन, स्थानीय र जनकपुर उद्योग वाणिज्य संघ बिच भएको त्रीपक्षिय वार्तामा ३ बुँदे सहमति भएको छ ।

आगजनी घटनामा तदारुकता नदेखाएका प्रहरी अधिकारीहरुलाई कारबाही गर्ने, पीडित पसल संचालकलाई विदेह नगरपालिकाबाट क्षतिपूर्ती र नगरमा जडान गरिएको सीसी क्यामेरा अविलम्ब संचालन गर्ने सहमति भएको वार्तामा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

स्थानीय संतोष मण्डलले संचालन गर्दै आएको सन्ता पान प्यालेसमा मोटर पार्ट्स तथा कस्टमेटिकको पसल समेत संचालन गर्दै आईरहेका थिए । शनिबार राति सो पसलमा मोटरसाईकलमा आएका केही व्यक्तिहरुको समूहले आगजनी गरेको पसल संचालक मण्डलको आरोप छ । उनका अनुसार आगजनीबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।

यता मण्डलले भने ‘तिनकौरिया प्रहरी चौकीको ५० मिटरकै दुरीमा रहेको पसलमा आगजनी हुँदा समेत प्रहरीले तदारुकता देखाएन ।’ प्रहरीले आगजनी घटनामा समेत तदारुकता नदेखाएकै कारण स्थानीय आक्रोशित भएर प्रहरी प्रशासन विरुद्ध नारावाजीमा उतरिएका थिए ।

यता पसलमा आगजनी गरिएको वा आगलगी भएको विषयमा अनुसन्धान भईरहेको धनुषा प्रहरी प्रवक्ता वस्नेतले बताए । यसका साथै तिनकौरिया प्रहरी चौकीमा रहेको सई आशनारायण गिरी नेतृत्वको ७ जनाको प्रहरी टोलीलाई परिवर्तन समेत गरिएको छ ।