लेनदेन मुद्दामा जसपा नेता नविन यादव पक्राउ

जनकपुरधाम, १३ चैत । प्रहरीले जनता समाजवादी पार्टी नेपाल धनुषाका स्थानीय यूवा नेता नविनकुमार यादवलाई पक्राउ गरेको छ ।
यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा धनुषा प्रहरीले तीन दिन अघिनै पक्राउ गरेको हो ।
एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनी तीन दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा रहेका छन् ।
विगो सहितको रकम नतिरेमा यादवलाई जेलचलान समेत गर्नसक्ने डीएसपी बस्नेतले बताए ।
यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


