काठमाडौं, १२ चैत । जनकपुरधाम–जयनगर रेल्वेको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्नेछन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट जनकपुरधाम–जयनगर रेल्वेको उद्घाटन गर्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकिरहेको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अध्यादेश जारी गरेपछि चल्न लागेको हो ।

महाप्रवन्धक झाले भने,‘प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर रेल चल्ने छ ।’

जनकपुरधाम–जनगर रेल फागुन १ गत्तेदेखि दिनमा एकपटक यात्रु बिना नै जयनगरबाट कुर्थासम्म आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने मिति निर्धारण नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर रेल चल्दै आएको छ ।

देउवा आफ्नो भारत भ्रमणका क्रममा धार्मिक नगरी वाराणसीसमेत पुग्ने भएका छन् ।

भारतीय समाचार संस्था एएनआईले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । प्रधानमन्त्री देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । देउवा चैत २० गतेसम्म भारतमा रहनेछन् ।

०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगी करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।