जनकपुरधाम, ११ चैत । मधेस प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार १९ जनाले आवेदन दिएका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार आइतबारदेखि शुक्रवारसम्म सो संख्यामा आवेदन परेको हो । उनले माग भन्दा तीन गुणा बढी आवेदन परेको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले देशभर १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेस प्रदेशमा मात्रै २१ हजार ६९८ जना माग गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।

चैत ६ गतेदेखि ११ गतेसम्मको अवधिमा सबैभन्दा बढी बारामा आवेदन परेको छ । बारामा ११ हजार २६७ जनाले आवेदन दिएका छन् । त्यस जिल्लामा भने २ हजार ५२८ जना म्यादी प्रहरी माग गरिएको छ ।

त्यस्तै सर्लाहीमा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ८ सय ५१ जनाले आवेदन भरेका हुन् । सप्तरीमा ३ हजार १३९ जनाको माग रहेकोमा ९ हजार ४३४ जनाले दरखास्त भरेका छन् ।

यता, धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी माग गरिएकोमा ९ हजार २१, महोत्तरीमा २ हजार ७३६ माग गरिएकोमा ८ हजार ५४, रौतहटमा २ हजार माग गरिएकोमा ६ हजार ६८४, सिरहामा २ हजार ३३१ माग गरिएकोमा ६ हजार ५०७ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएकोमा ६ हजार २०१ जनाले दरखास्त भरेका हुन् ।

यस प्रदेशका ८ जिल्लामा कुल जनसंख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ ।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।

आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।