शहीदनगरमा जनप्रतिनिधिले नै विद्यालय कर्मचारीको श्रम शोषण गर्दै

जनकपुरधाम, ११ चैत । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनिधिले बाल विकास शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीहरुलाई श्रम शोषण गर्दै आएको तथ्य बाहिर आएको छ ।
अहिले नेपालमा श्रमिकको न्यूनतम ज्याला १३ हजार ४५० रुपैयाँ छ । कर्मचारीहरु आधारभूत पारिश्रमिक ८ हजार ४५५ रुपैयाँ र ४ हजार ९९५ रुपैयाँ महँगी भत्ता पाउँछन् । तर नेपालमा बाल विकास शिक्षक, शिक्षिका र विद्यालय कर्मचारीहरुले त्यसको आधा पनि तलब पाउन सकेका छैनन् ।
२०५१ सालदेखि बाल विकासको सुरुवात भएको थियो । त्यो बेलाको पारिश्रमिक भनेको मासिक ५ सय रुपैयाँ थियो । त्यसको २४ वर्षपछि उनीहरुको तलब ६ हजार मात्रै पुगेको थियो । त्यस पश्चात १३ हजार ४ सय ५० रुपैयाँ पाउनु पर्ने नेपाल सरकारले तय गरेको छ ।
यद्यपी, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन यादव, लेखापाल लोक बहादुर नेपाली तथा शिक्षा शाखा प्रमुख धनेश्वर यादवका कारण बाल विकासका शिक्षक, शिक्षिका तथा विद्यालयका कर्मचारीहरुले गत साउन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।
संघीय सरकारबाट बाल विकास शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुका लागि तलब आएपनि स्थानिय तहले छुट्याउनु पर्ने बजेट नआएपछि समस्या थपिएको शिक्षा शाखा प्रमुख यादव बताउँछन् । नगरपालिका भित्र रहेका १३ विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई तीन महिनाको तलब भुक्तानी भईसकेको छ, यादव भन्छन्, ‘बाँकी १९ विद्यालयको भुक्तानी हुन सकेको छ्रैन् । कागजात पेश भएको छ, तर बजेट अपुग छ । नगरपालिकाको दायित्वमा रहेको थप बजेट विनियोजन नहुँदा उनीहरुको तलब भत्ताको समस्या थपिएको छ । मेयर सहित सरोकारवालाहरुलाई मैले पटक पटक जानकारी गराएकै छु । यद्यपी, हालसम्म नगरपालिकाले छुट्याउनु पर्ने बजेट शिक्षा शाखालाई बुझाएको छैन् ।’
नगरपालिकाका लेखापाल नेपालीले बाल विकास शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुको साउन देखि पुस सम्मको तलब भुक्तानी गरिसकेको दावी गरे । यद्यपी, लेखापालले भुक्तानीको तथ्याँक देखाउन मानेन्न ।
काम गर्दा गर्दै पनि तलब भत्ता नपाउनु निकै गम्भिर समस्या हो, बाल विकास शिक्षक शिक्षिका संघर्ष समितिका संयोजक बबिता यादव भन्छिन्, ‘मेयर बरबरियाले हामीमाथि श्रम शोषणा गरे ।’
संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।
गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।
विद्यालय कर्मचारी (लेखापाल) को संघीय सरकारले रु १३ हजार ४ सय ५०, बालविकास सहजकर्ताको रु ८ हजार र कार्यालय सहयोगीलाई रु ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन संघीय सरकारले अध्यादेशबाट बजेट पारित गरेको थियो ।
पारित भइसकेको बजेट पनि दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको महतोले बताइन्। बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुको भनाई छ ।
महिलामाथि एकातिर थोरै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । भने अर्कोतिर घरधन्दा पनि उनीहरुकै काधमा छ । त्यसैले आफुहरुको माग सम्बोधन गर्दै उचित व्यवस्थापनको लागि दबाब दिन र साउनदेखिको तलब भत्ता मांग्दै नगरपालिकामा धर्नामा बसेका छन् ।
शिक्षिकाहरुलाई एकातिर घर परिवारलाई सम्हाल्ने चुनौती हुन्छ भने अर्कोतिर परिवारको खर्च कसरी धान्ने भने तनाव हुन्छ । केही तलब पाउने आश थियो । तर मेयर बरबरिया तथा सरोकारवालाहरुले यसलाई पनि खोस्ने भयो । अब कसरी घर परिवार पाल्ने के हामी यो नगरपालिकाका नागरिक होईनौं ! होईनौं भने राज्यले नै हामीलाई भनोस तिमिहरु यो नगरपालिकाका कर्मचारी वा नागरिक होईनौं । होईन भने हामीमाथि विभेद किन ’ शिक्षिकाहरुको प्रश्न छ ।
मेयरको नाटकिय कारवाही
शहिदनगर नगरपालिकाका मेयर बरबरिया चर्चामा आउनको लागि शिक्षक शिक्षिकाहरुको तलब भत्तामा झेल गरेको भन्दै शिक्षा शाखा प्रमुख धनेश्वर यादवलाई काज फिर्ता गरेको पत्र काटेका छन् । मेयर बरबरिया आफु चोखिन र सम्पूर्ण दोष शिक्षा शाखा प्रमुख यादवमाथि लगाउँदै नाटकीय रुपमा काज फिर्ता गरेको पत्र काटेका हुन् ।
पत्रमा मेयर बरबरिया र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन यादवको नाम छ । तर उक्त नाममा मेयर बरबरियाले मात्र हस्ताक्षर गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत यादवको हस्ताक्षर छैन् । अधिकृतको हस्ताक्षर विना उक्त पत्रको कुनै अर्थ हुँदैन् ।
नगरपालिका कार्यालयको चलानी नम्बर १६११ अनुसार शिक्षा शाखा प्रमुख यादवलाई काम फिर्ता गरिएको लेखिएको छ ।
यस अघि पनि मेयर बरबरियाले ननगर भित्रकै एक शिक्षकलाई कारवाही गरी कामकाजमा रोक लगाएको पत्र बाहिर ल्याएका थिए । मेयर बरबरियाको अपरिपक्व निर्णयले पछि पुनः उक्त शिक्षक विद्यालयमा काममा फर्के ।
नगरपालिकाका जनप्रतिनिधिले गरेको निर्णय अनुसार आफु काज फिर्तामा जाने शिक्षा शाखा प्रमुख यादवले सुनाए । यद्यपी, उक्त पत्रले आफुमाथि कुनै कारवाही नहुने शिक्षा शाखा प्रमुख यादवले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


