जनकपुरधाम, ११चैत । जनकपुरधाम-जयनगर रेल्वेको यहि चैत १९ गते उद्घाटन हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनकपुरधाम-जयनगर रेल्वेको उद्घाटन हुन लागेको जानकारी दिएका हुन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उद्घाटन गर्ने सम्भावना रहेको महाप्रबन्धक झाले बताए ।

‘अहिलेसम्म पूर्ण रुपमा उद्घाटको मिति तय नभएपनि चैत १९ गते हुने प्रवल सम्भावना छ । सम्भवतः आज साँझसम्म मिति तय हुन्छ,’ उनले भने ।

उनले रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकिरहेको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अध्यादेश जारी गरेपछि चल्ने सम्भावना रहेको बताए ।

उनले भने,‘प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर रेल चल्ने छ ।’

जनकपुरधाम-जनगर रेल फागुन १ गत्तेदेखि दिनमा एकपटक यात्रु बिना नै जयनगरबाट कुर्थासम्म आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने मिति निर्धारण नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर रेल चल्दै आएको छ ।

०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगी करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।