जनकपुरधाम, १० चैत । ऐतिहासिक बाह्रविघा मैदान कुरुप बनेको छ । मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको एकसाता वित्दा समेत जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानको सरसफाइ हुन सकेको छैन ।

रंगभूमि मैदानको सरसफाइका लागि न त जनकपुरधाम उपमहानगरपालिकालाई मतलब छ न प्रदेश सरकारलाई कुनै फिकिर छ ।जनकपुरधाममा ठुलठुला महोत्सव, सभासम्मेलनदेखि रामसीताको स्वयम्बर समेत हुने स्थान बाह्रविघा मैदान हो ।

चैत ३ गते मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आइपुग्दा बाह्रविघा मैदानमा बास बसेको थियो । सो दिन भएको फोहोरले एकसातादेखि बाह्रविघा मैदान कुरुप भएर हेरिनसक्नु छ ।

मिथिला माध्यमिकी परिक्रमामा बाह्रविघा मैदानमै लाखौं श्रद्धालुभक्तजनको घुँइचो लागेको थियो । तर एकसाता वित्दा समेत बाह्रविघामा प्लास्टिक, कागजको टुक्राजस्ता फोहोर अझै सरसफाई नहुँदा कुरुप बनेको छ ।

परिक्रमा आउँदा जनकपुरधाम उपमहानगरपालिका कार्यालयले बाह्रविघा मैदानमा व्यवसायीबाट जबर्जस्ती कर (बट्टी) असुलेको थियो ।
बह्रविघा मैदान कुरुप भएको कारण त्यहाँ हिडडुल र उठबस गर्न समेत सर्वसाधारणलाई समस्या भएको छ । जनकपुरधाममा कुनै उत्सव अथवा अतिथि आउनुपूर्व बजेट सकाउन मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतदेखि मन्त्री, जनप्रतिनिधिहरु हप्तामा तीन/चार दिन झाडु लगाउँछन् । तर उत्सव समापन र पाहुनाको विदाईपछि फोहोर सरसफाइमा ध्यान नदिँदा यसको आलोचना हुँदै आएको छ ।

यस सम्बन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यसतर्फ आफूहरुले चासो नलिएको बताए ।

उता उपमहानगरका उपप्रमुख रिता मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व हाम्रो रहेपनि यसको रेखदेख मुख्य रुपमा वृहत्तरको रहेको बताइन् । उनले भनिन्,‘यसमा संघ सरकार वा प्रदेश सरकारको पनि प्रमुख दायित्व छ, मात्रै उपमहानगरपालिकाको दोष लगाएर हुँदैन ।’