प्रादेशिक अस्पताल जनकपुरको एम्बुलेन्स प्रश्नपत्र ओसार्न प्रयोग

जनकपुरधाम, ९ चैत । प्रादेशिक अस्पताल जनकपुरधामले अस्पतालको एम्बुलेन्सलाई बिरामी बोक्ने साधनको रुपमा नभई अन्य कामको लागि प्रयोग गरेको पाइएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामले एम्बुलेन्सलाई जनकपुर नर्सिङ्ग कलेजको प्रश्नपत्र ल्याउन प्रयोग गरेको पाइएको हो ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा सो एम्बुलेन्स प्रश्नपत्र ल्याउन पुगेको थियो ।
त्यहाँ प्रश्नपत्र एम्बुलेन्समा लोड गरिरहँदा पुगेका एक सञ्चारकर्मीले फोटो खिच्न थालेपछि प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले रोकका थिए । पछि डिएसपी बस्नेतले सञ्चारकर्मीले फोटो खिच्न लाग्दा एम्बुलेन्सलाई रित्तै फर्काएका थिए ।
यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले चालकले झुक्याएर एम्बुलेन्स लिई प्रश्नपत्र ल्याउन जिल्ला प्रहरी कार्यालय पुगेको दावी गरे ।
उनले भने,‘मैले चालकलाई म्याजिक गाडी लिएर प्रश्नपत्र ल्याउन भनेको थिएँ । उनी झुक्किएर एम्बुलेन्स लिएर पुगे । मैले थाहा पाएपछि रित्तै फर्केर आउन भने । अर्को गाडी पठाएर प्रश्नपत्र ल्यायो ।’
धनुषामा विभिन्न संघसंस्थाले भारतीय दूतावासबाट अनुदान स्वरूप पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको पाइएको छ ।

धनुषामा मात्रै अहिले ७७ वटा एम्बुलेन्स रहेका छन् । जसमध्ये कतिपय संस्थाले भारतीय दूतावासबाट समेत अनुदान स्वरूप पाएका छन् । तर, अहिले ती सबै एम्बुलेन्स कहाँ छन् त्यसको कुनै लेखाजोखा छैन । कोरोनाजस्तो महामारीको समयमा पनि धनुषामा ७७ वटा एम्बुलेन्स रहे पनि बढीमा १० वटा मात्र सञ्चालनमा रहेका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा अहिले ज.१ झ ३८६ र ना.१ झ १५९६ नम्बरको गरी २ वटा एम्बुलेन्सहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


