जनकपुरधाम, ८ चैत । मधेस प्रदेशमा म्यादी प्रहरीका लागि तिनदिनमा ३२ हजार भन्दा बढि व्यक्तिले आवेदन दिएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको हो ।

आइतबारदेखि म्यादी प्रहरी भर्नाको आवेदन दिने व्यक्तिहरुको जिल्ला प्रहरी कार्यालयहरु अगाडि भीड लागेको छ ।

दरखास्त आह्वान गरिएको पहिलो दिन आइतबार यस प्रदेशमा ५ हजार २१६ जनाले आवेदन भरेका थिए । त्यस्तै दोस्रो दिन सोमबार १२ हजार ४७ र तेस्रो दिन मंगलबार १५ हजार ३८ गरी तिन दिनमा कूल ३२ हजार ३०१ जनाले आवेदन भरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको हो । सबैभन्दा बढी मधेस प्रदेशमा म्यादी प्रहरी खटनेछन् ।

प्रहरी प्रधान कार्यालयले आइतवारदेखि १ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरेकोमा यस प्रदेशको धनुषा जिल्लामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिनेछ ।

यस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ ।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।

आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।