रामजानकी हस्पिटलले लियो पुनः एक बालकको ज्यान, अस्पतालमा तोडफोड

जनकपुरधाम, ७ चैत । पटक पटक बिरामीलाई अनाहकमा ज्यान मार्दै आएको जनकपुरधामस्थित रामजानकी हस्पिटलले पुनः एक बिरामीको ज्यान लिएको आरोप लगाइएको छ ।
रामजानकी हस्पिटलमा एपेन्डीक्स भएका एक बालकको वास्तविक रोग पहिचान नै नगरी उपचार गर्दा मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने असरफ राइनका ५ वर्षीय छोरा आरमिन राइनको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका हुन् । एपेन्डीक्स भएको आफ्नो छोरालाई वास्तविक उपचार नगरी तीन दिनसम्म अस्पतालमा राखेकोले उसको मृत्यु भएको असरफको आरोप छ ।

उनले भने,‘मेरो छोरालाई ज्वरो लागेपछि अस्पताल ल्याउँदा चिकित्सकले विस्तृत जाँच नै नगरी भर्ना गरेर राखेका थिए । तीन दिनपछि आफुहरुको चित्त नबुझ्दा बाहिर जाँच गराएपछि छोरालाई एपेन्डीक्स भएको पत्ता लाग्यो । पछि विराटनगर लगिए पनि उसको मृत्यु भयो ।’
एपेन्डीक्स पत्ता नलगाई त्यतिकै राख्दा उसको शरीरभर विष फैलिएर मृत्यु भएको थियो ।
घटना भएको दिन गत शुक्रबार अस्पताल प्रशासनले घटनाको विषयमा दुवै पक्षलाई राखेर चैत ७ गते छलफल गर्ने सहमति जनाएको थियो तर सोमबार कुनै पनि छलफल नहुने बताएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । पीडित पक्षले अस्पतालमा तोडफोडसमेत गरेका छन् ।

यता, अस्पताल प्रशासनले प्रहरी लगाएर आफुहरुलाई कुटपिट गर्न लगाएको पीडित पक्षको आरोप छ । प्रहरी प्रशासन र बाउन्सर प्रयोग गरि उल्टै आफुहरुलाई कुटपिट गरिएको उनीहरुको आरोप छ ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय यस अस्पतालमाथि उपचारका क्रममा चिकित्सकले लापरवाही गरेको, कोरोनाकालमा गत वर्ष कम मूल्यका औषधि बढि मूल्यमा बेचेकोलगायतका बिभिन्न आरोपहरु लाग्दै आएका छन् ।
उपचारका क्रममा रामजानकी हस्पिटलमा बिरामीको ज्यानै लिने यस्ता खालका घटना विगतमा पनि पटक–पटक दोहोरिंदै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


