मधेस प्रदेश : म्यादी प्रहरीका लागि पहिलो दिनमै ५ हजार २१६ जनाको आवेदन

जनकपुरधाम, ७ चैत । मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एकदिनमै ५ हजार भन्दा बढि व्यक्तिले आवेदन दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा मात्रै २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको हो ।
आइतबारदेखि म्यादी प्रहरी भर्नाको आवेदन दिने व्यक्तिहरुको जिल्ला प्रहरी कार्यालयहरु अगाडि भीड लागेको छ । दरखास्त आह्वान गरिएको पहिलो दिनमै यस प्रदेशमा ५ हजार २१६ जनाले आवेदन भरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको हो । सबैभन्दा बढी मधेस प्रदेशमा म्यादी प्रहरी खटनेछन् ।
प्रहरी प्रधान कार्यालयले आइतवारदेखि १ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरेकोमा यस प्रदेशको धनुषा जिल्लामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिनेछ ।
यस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ ।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने छ ।
विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


