मोरङमा स्थानीय र प्रहरीबिच झडप : छुरा प्रहारबाट महिला प्रहरीको मृत्यु

विराटनगर, ७ चैत । मोरङको लेटाङमा शिक्षकले छात्रामाथि दुव्र्यवहार गरेको विषयमा स्थानीय र प्रहरीबीच भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको छ ।
झडपमा घाइते महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो । अन्य एक दर्जनभन्दा बढी प्रहरी यो घटनामा घाइते भएका छन् । प्रहरीले चलाएको गोली लाग्दा एक युवक पनि घाइते भएका छन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।
विद्यालयमा छात्रामाथि निरन्तर दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही नगरिएको भन्दै स्थानीय र विद्यालयका विद्यार्थीहरुले कारवाही गर्न खोजेका थिए ।
आरोप लागेका शिक्षक प्रहरी नियन्त्रणमा रहेपनि गाउँलेले खोस्ने प्रयास गरेका थिए । प्रहरीसँग यो विषयमा कुरा नमिल्दा त्यहाँ झडपको वातावरण बनेको थियो । प्रहरीमाथि आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले झडपमा हवाइ फायरसमेत गरेको स्थानीयले बताएका छन् ।
विद्यालयकी छात्राले ती शिक्षक बारम्बार आफ्नो घरमा नै आएर आफूमाथि दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी छिन् । प्रहरीलाई यो विषयमा स्थानीयले जानकारी दिएका थिए ।
ती शिक्षकलाई स्कुलमा नै राखेर आगो लगाउने प्रयास गरिएपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन् ।
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
थप अप्रिय घटना हुन नदिन सोमबार बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङ वडा नं. ४, ५ र ६ मा कर्फ्यु लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
घाइतेहरुलाई उपचारार्थ कोशी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


