धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने, पहिलो दिनदेखिनै आवेदन दिनेहरुको भिड

जनकपुरधाम, ६ चैत । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४८६ जना म्यादी प्रहरीको कोटा रहेको बताउँदै महिला र पुरुषको कोटा नछुट्याएकोले आवेदनको आधारमा भर्ना गरिने जानकारी दिएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाको आधारमा पहिलो दिन देखि नै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी आवेदन दिनेहरुको भिड लागेको छ ।
म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको छ । जसका लागि यस जिल्लामा मात्र ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ ।
आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष नै रहेका छन् । महिलाको संख्या न्यून देखिएको छ ।

आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।
विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


