धनुषामा होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने ४ जनासहित ६६ सवारी साधन प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, ५ चैत । धनुषामा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लामा बिहानैबाट प्रहरीले मादकपदार्थ सेवन, सडकमा उच्छृंखल गतिविधि गर्ने, लापरबाही गरी सवारी चलाउनेमा विशेष निगरानी राखेको थियो । विशेषतः होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जनपद प्रहरीले जनकपुरधाम नगरको विभिन्न चोकमा चेकिङ गरेका थिए ।
प्रहरीले मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गरेका ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
त्यसैगरी, जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख नवराज न्यौपानेले बिहानबाट जिल्लाभर ट्राफिक नियम उल्लंघन भएका कुल ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।
जिल्लामा कागजपत्र विना मोटरसाईकल चलाएका ६६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएका २७ र तिनजना सवार भई मोटरसाइकल चलाएका ४२ सवारी साधन रहेको उनले बताए ।
ट्राफिक कार्यालय प्रमुख न्यौपानेले उपमहानगरपालिकाभित्र ट्राफिक नियम उल्लंघन गरेकाहरूलाई जरिवाना काटेर छाडिएको बताए ।
मापसे गरेका चालकलाई नछाडिएको बताएका उनले अन्यमा पक्राउ गरिएकालाई सम्बन्धितका आफन्तको रोहबरमा कागजपत्र ल्याएर सवारी फिर्ता गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


