जनकपुरधाम, ५ चैत । धनुषामा दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको र करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

जानकी चोकस्थित अंगराज सर पोखरीमा डुबेको अवस्थामा भेटिएका कर्णलाई स्थानीयले उद्धार गरी प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाको मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको प्रहरीले जनाएको छ ।

भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाइ छ ।