जनकपुरधामसहित आसपासको क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै (फोटो फिचर)

जनकपुरधाम, ५ चैत । जनकपुरधामसहित आसपासको क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ ।

अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो ।

होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुशी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ ।

फागुन शुक्ल पक्षको अष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण छन् ।

होलीका गीत मिथिलामा फरक–फरक किसिमले गाइन्छ । यस अवसरमा कसैले गाली गर्दा कोही केही मतलव राख्दैनन् तर कतिपय झगडा नै गर्छन् ।

फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अंगालो मारी माया–प्रेम बाँड्ने चलन छ ।

दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिबल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मिथिलाको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।

केही ग्रामीण क्षेत्रहरुमा भने शुक्रबार नै होली पर्व मनाइएको छ । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइएको थियो ।















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


