रौतहट, ५ चैत । रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ ।

जिल्लाको कटहरीया नगरपालिका–९ डुमरियामा होली मनाउने क्रममा शुक्रबार राति दुई समूहबीच झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको बताइएको छ ।

झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जनाएको छ ।

होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडाध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये वडाध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गम्भीर चोट लाग्नुका साथै उनकै पक्षका महबुब मिंयाको अनुहारमा पनि चोट लागेको छ ।

उनीहरुलाई थप उपचारका लागि राति नै एम्बुलेन्समार्फत विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एक नीजि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडाध्यक्ष रामाज्ञा यादव सहित ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।