जनकपुरधामको अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुरधाम, ४ चैत । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ ।
आज बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने परिक्रमा सम्पन्न भएको हो ।

मिथिला माध्यमिकी तथा अन्तरगृहम परिक्रममा यसवर्ष पनि लाखौं श्रद्धालुहरु सहभागि भएका थिए । अन्तरगृह परिक्रमामा तिर्थालु तथा श्रद्धालुको झनै भीड लागेको थियो ।
परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । परिक्रमा सकिएपछि श्रद्धालुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

फागुन औसींका दिन मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट परिक्रमा सुरु भएको थियो । मिथिला बिहारीको डोला जनकपुरधाम ल्याएपछि विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ हुने गर्दछ । फागु पूर्णिमा आर्थात आजकै दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । मध्यमा परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्याणेश्वर,भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औं दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरि मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ । १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमामा सहभागि हुने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । तर, तीनै तहको सरकारले यसको व्यवस्थापनमा खासै ध्यान दिएको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


