महोत्तरी, १४ फागुन । महोत्तरीको मटिहानी नगरपालिकामा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो ।

प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले रणभीम गण जलेश्वरको डिस्पोज टोलीले उक्त शंकास्पद वस्तुलाई खाली ठाउँमा लगेर सुरक्षित तरिकाले डिस्पोज गरेको जानकारी दिए ।

कोही कसैलाई डर देखाउन वा तर्साउन उक्त वस्तु राखेको हुनसक्ने महोत्तरी प्रहरीले जनाएको छ । कसले र किन राख्यो भन्ने विषयमा खोजबिनकै क्रममा रहेको एसपी पंगेनीले बताए ।

शनिबार मटिहानी नगरपालिका कार्यालय धिरापुरको अगाडि शंकास्पद वस्तु फेला परेको थियो । फेला परको ४ घण्टापछि सेनाले सो वस्तु डिस्पोज गरेको छ ।

प्रहरीले उक्त बमको बिषयमा अनुसन्धान अगाडि बढाएको छ ।