बाढीको जोखिम बढेपछि कमला किनारमा माइकिङ
जनकपुरधाम, ११ असोज । अविरल वर्षाका कारण कमला नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी तथा आसपासका बस्तीमा माइकिङमार्फत सचेतना फैलाउन थालेको छ ।
कमला नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
नदीमा पानीको सतह बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सावधानी अपनाउन माइकिङमार्फत जानकारी गराइएको हो ।

प्रहरी टोलीले स्थानीयवासीलाई सम्भावित बाढी तथा डुबानबाट सुरक्षित रहन, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन र जोखिमको अवस्था देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
अविरल वर्षा भइरहेकाले कमला नदी आसपासका बस्तीमा थप जोखिम हुनसक्ने भन्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाइएको छ ।


