धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको उद्धार
जनकपुरधाम, ११ असोज । अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ ।
पहिरोमा परी स्थानीय राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब ९ः१० बजे घर पहिरोले पुरिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहत र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरेको थियो ।
उद्धारका क्रममा राजन श्रेष्ठकी श्रीमती करिब ३५ वर्षीया कमला श्रेष्ठलाई भने बिहान ११ बजे मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठको शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले अविरल वर्षाका कारण पहाडी तथा नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान तथा उद्धारसम्बन्धी कार्य भइरहेको छ ।


