बारा, १२ फागुन । मधेस प्रदेशमा प्रहरीको गोली लागेर एकजना गाँजा तस्करको मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली लागेर परिचयन खुल्न नसकेका एक भारतीय गाँजा तस्करको मृत्यु भएको हो ।

गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउण्ड गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि ती गाँजा तस्करको मृत्यु भएको प्रहरीको दावी छ ।

बुधबार राति ७÷८ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सो घटना भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा उनको राति साढे १ बजे मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदयेश गिरी रहेका छन् । मृतकको शव अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।