जनकपुरधाम, ११ फागुन । नेपाल रेल्वे कम्पनीले गत फागुन १ गतेदेखि यात्रुबिना सञ्चालन गरिरहेको रेल उद्घाटनको पर्खाइमा छ ।

कम्पनीले हाल दैनिक एकपटक इनरुवादेखि कुर्था र कुर्थादेखि इनरुवासम्म यात्रुबिना नै रेल सञ्चालन गरिरहेको छ ।

उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल दिनको एकपटक सञ्चालन भईरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले प्राविधिक अवस्था बुझ्न यात्रुबिनाको रेल सञ्चालन भईरहेको बताए ।

‘धेरै दिनदेखि थन्काएर राखिएकोले रेल्वेको प्राविधिक अवस्था बुझ्न हामीले यात्रुबिनाको रेल चलाइरहेका छौंँ,’ उनले भने ।

लिकमा हाटबजार र आवतजावतमा समेत रोक लगाइएको जानकारी दिँदै झाले पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत् सर्वसाधारणलाई यसअघि नै जानकारी गराइसकिएको बताए ।

उनले भने, ‘तालिम लिएका ५९ जना नेपाली कर्मचारी र १४ जना भारतीय कर्मचारी काममा खटिसकेका छन् । १२ जना भारतीय कर्मचारी भने उद्घाटनपछि आउने छन् ।’

‘हामीले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ,’ महाप्रबन्धक झाले भने ।

भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेकोले आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई जानकारी पठाएको महाप्रबन्धक झाले जानकारी दिए ।

‘उद्घाटनको ढिलाईका कारण मात्र रेल चलाउन समस्या भएको छ’, महाप्रबन्धक झाले भने,‘नभए रेल चलाउन अब कुनै समस्या छैन्, हामीले सबै तयारी गरिसकेका छौं ।’

रेल उद्घाटनपछि सुरुका एक हप्तासम्म दिनको एकपटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।

सञ्चालनका लागि दुबै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको उनले जानकारी दिए । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ ।

२ असोज २०७७ मा भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा थन्क्याइएको थियो ।

भारत सरकारको ८ अर्ब ७७ करोडको आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गरिएको छ । रेलमा १ हजार २०० देखि १ हजार ३०० यात्रुसम्म बसेर यात्रा गर्न सक्छन् ।