‘लोन स्क्याम’को आरोपमा चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौं, ११ फागुन । प्रहरीले बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गतको कसूरमा संलग्न एक चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ ।
बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओसहित २४ पुरुष र १३ महिला गरी ३७ जनालाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरस्थित एक घर भाडामा लिई उनीहरूले लोन स्क्याम गर्ने गरेको प्रहरीको भनाइ छ ।
चिनियाँ नागरिक च्याङले सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी विभिन्न एप्लिकेसनमार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले विभिन्न एप्लिकेसनमार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइलसमेत बरामद गरेको छ ।
उनीहरूउपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


