महोत्तरी, ११ फागुन । महोत्तरी कारागारका कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित बनेका छन् ।

कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेकोले उनीहरुमा छाला सम्बन्धी रोगको समस्या देखिएको हो ।

सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहोर बढेपछि चर्मरोगको समस्या बढेको कैदीहरु बताउँछन् ।

एक थुनुवाले भने,‘यहाँ भित्र कारागारमा मान्छे थपिएको थपियै छन्, तर, नियमित सरसफाइ छैन । हामीलाई राम्ररी कोल्टे फेर्ने ठाउँ पनि छैन, कोचाकोच भएर बस्नुपरेको छ ।’

१३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको जलेश्वर कारागारमा अहिले १९४ कैदी र ३७६ जना थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ जना थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ जना थुनुवा रहेको जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए ।

महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र ३ बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री बताउँछन् ।

उनले भने, ‘हामी कैदीबन्दीको स्वास्थ्य समस्याप्रति संवेदनशील छौं । कारागारमा पर्याप्त जनशक्ति नभएकोले नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण हो ।’ भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उनले बताए ।

कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ ।

न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको संख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको सो कारागार भवन अहिले जीर्ण बनेको छ ।