सर्लाहीमा स्यालको टोकाइबाट १५ जना घाइते

सर्लाही, १० फागुन । सर्लाहीमा स्यालको टोकाइबाट १५ जना घाइते भएका छन् ।
मंगलबार एकाबिहानै जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा पसेको स्यालले वडा नम्बर–२ र ४ स्थित नदिया पकडी तथा पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् । गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका–२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औँला खाइदिएको छ ।
यस्तै, स्यालले टोकेर घाइते भएकाहरुमध्ये ९ जनालाई खोप लगाउनका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
बाँकी सामान्य घाइतेहरुको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


