‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै ७ लाखभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, ९ फागुन । ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै ७ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ का सुभम साह र बाराको महागढिमाई नगरपालिका–१० का सर्फराज आलम रहेका छन् । पक्राउ परेका दुवैजना वीरगञ्ज बस्दै आएका थिए ।
उनीहरुले ९८२९४०२०४९ नम्बरको मोबाइलबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।
ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिन भवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरीले जनाएको छ ।
यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरूका खातामा समेत पठाएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


