सप्तरी, ८ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रवाह सुस्त देखिएको छ ।

सेवाग्राहीहरु मर्कामा पर्दा समेत कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा दैनिक सयौँ सेवाग्राहीको भीड रहने जिल्ला प्रशासन कार्यालय सप्तरी अस्तव्यस्त बनेको हो ।

कर्मचारीहरु काममा ध्यान नदिंदा नागरिकता र राहदानी बनाउन आएका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालयको प्रांगणमा घण्टौँ कुर्न बाध्य भएका छन ।

‘म नागरिकताको प्रतिलिप निकाल्न आएकी हुँ, एकछिनमै आउँछु भनेर जानु भएको फाँटवाला कर्मचारी दुई घण्टा भयो’, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका उपाध्यक्ष ज्योति झाले गुनासो गरिन्, ‘त्यो एकछिन वहाँको अझै भएको छैन ।’

ज्योति मात्रै नभई सप्तरीको धेरै टाढा टाढाबाट आएका सेवाग्राहीहरु नागरिकताकै लागि दुई तीन दिनसम्म धाउन बाध्य भएका छन् ।

‘एक पटक आउन जान र खाना खान एक हजार खर्च हुन्छ, नागरिकताका लागि आएको, तर प्रशासनमा कर्मचारी नै नभएपछि कुरीरहेको छु’, जिल्ला प्रशासन बाहिर कर्मचारी कुरीरहेका अर्का एक सेवाग्राहीले भने ।

उनले भने,‘कार्यालयहरुमा कर्मचारी अपुग भएको, सेवाग्राहीको पहुँच पुगे/नपुगेको तथा सर्वसुलभ सेवा प्रवाह भए/नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले निगरानी गर्नुपर्ने हो । तर, जिल्ला प्रशासन कार्यालय स्वयं नै अस्तव्यस्त भएपछि त्यसको असर सवै कार्यालयमा पर्छ ।’

हरेक कार्यालयको निगरानी र गतिविधिमा प्रत्यक्ष चासो राख्ने र समस्या समाधानको पहल गर्ने जिल्ला प्रशासन कार्यालय नै अस्तव्यस्त भएपछि सेवा प्रवाह र शान्तिसुरक्षा लगायतका महत्वपूर्ण काम प्रभावित बनेका छन् ।

कर्मचारी अभावका कारण सेवा प्रवाह ढिलो भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वीकार गरेका छन । गृह मन्त्रालयले दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा सेवाग्राहीलाई समस्या भएको उनले बताए ।

उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा सहसचिव स्तरको सिडिओसहित ३३ जना कर्मचारीको दरवन्दी रहेकोमा २७ जना मात्रै कार्यरत रहेकोले सेवा प्रवाह ढिलो हुन गएको दाबी गरे ।