जनकपुरधाम, ७ फागुन । मधेस प्रदेशमा एक वर्षमा भएको मानव अधिकार उल्लंघन र ज्यादतीको घटनामा साढे सात सय भन्दा बढी व्यक्ति पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शनिवार जनकपुरधाममा मानव अवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ । जसअनुसार २०७७ पुस १७ गतेदेखि २०७८ पुस १६ गतेसम्ममा ७५८ जना पीडित भएका छन् ।

इन्सेकको अनुसार २०२१ मा मधेश प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी मानव अधिकार उल्लंघनको घटनामा व्यक्ति पीडित बनेका छन् । सिरहामा अन्य पक्षबाट १३१ जना पीडित बनेका छन् भने राज्य पक्षबाट समेत ५ जना पीडित बनेका छन् ।

त्यस्तै धनुषामा १११ जना अन्य पक्षबाट पीडित बनेका हुन् भने १८ जना राज्य पक्षबाट पीडित बनेका छन् । सर्लाहीमा अन्य पक्षबाट ६६ जना र राज्य पक्षबाट ४० जना, सप्तरीमा अन्यपक्षबाट ८९ र राज्यपक्षबाट ७, रौतहटमा अन्यपक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित बनेका हुन् ।

त्यस्तै पर्सामा अन्यपक्षबाट ८० र राज्यपक्षबाट १ जना पीडित बनेका छन् भने महोत्तरीमा अन्यपक्षबाट ४५ र राज्य पक्षबाट एकजना पीडित बनेका छन् ।

इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ मा बलात्कारका २३४ वटा घटना घटेका छन् । बलात्कारको घटनामा सबैभन्दा बढी बालबालिका पीडित बनेकी छिन् । एक वर्षमा बालअधिकारको घटनातर्फ १५६ जना बालिका बलात्कृत भएकी छिन् भने महिला अधिकारतर्फ ७८ जना बलात्कृत भएकी छन् ।

इन्सेकको तथ्यांक अनुसार मधेश प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको छ भने ७३ जनाको हत्या गरिएको तथ्यांकमा उल्लेख छ ।