जनकपुरधाम, ७ फागुन । धनुषाको औरही गाउँपालिका वडा नम्बर–२ परवाहामा रहेको श्री मावि परवाहा देउरी विद्यालयमा करोडौंको अनियमितता भएको पाइएको छ ।

विद्यालयको सम्पतिबाट उठेको आम्दानीबाट औरही गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष अमित यादव र विद्यालयका तत्कालिन प्रधानाध्यापक कारी यादवको मिलोमतोमा करोडौं रकम अपचलन गरिएको पाइएको हो ।

श्री मावि परवाहा देउरीको स्वामित्वमा रहेको पोखरी, हाटबजार, सटरलगायतको विभिन्न शिर्षकमा आएको आम्दानीबाट आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड १४ लाख ७ हजार ५०९ रुपैयाँभन्दा बढीको अनियमितता भएको पाइएको छ । विद्यालयको आम्दानी रकममा अपचलन गरेपछि आफु फस्ने डरले तत्कालिन प्रधानाध्यापक कारी यादव सरुवा गराएर अन्तै गइसकेका छन् । उनी अहिले धनुषाधाम नगरपालिकास्थित श्री जगरुप शाह रामपुकार शाह मावि परसुराम तलाउका प्रधानाध्यापक छन् ।

विद्यालयमा करौडौंको अपचलन भएपछि पटक पटक औरही गाउँपालिकामा सो विद्यालयमा भएको अनिमितताको विषयमा छानविनका लागि पत्र काट्दै आईरहेको छ । यद्यपि अख्तियारको सो पत्रलाई विद्यालय प्रशासन मात्र नभई गाउँपालिका प्रशासनले समेत अटेरी गर्दै आईरहेको पाइएको छ ।

अख्तियारले सो विद्यालयमा भएको भ्रष्टाचारको विषयमा छानविनका लागि २०७७ फागुन १४ मा पालिकालाई पत्र काटेको थियो । तर लगभग १ वर्षसम्म पनि जवाफ नआएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयले फेरी २०७८ माघ २५ गते सोही विषयलाई लिएर पालिकालाई पत्र काटेको थियो । पत्रमा १ हप्ता भित्र जवाफ पठाउन भनिएको छ ।

अख्तियारले गाउँपालिकालाई काटेको पत्रमा २०७५/०७६ देखि हालसम्म कुन प्रक्रियाबाट विद्यालयको पोखरी, सटरहरु ठेक्का लगाइएको हो सो को प्रमाणित विवरण, आम्दानी विद्यालयको खातामा जम्मा भएको भर्पाई, बैंक स्टेटमैन्ट, आम्दानीबाट खर्च भएको भए खर्चको विवरण, कुन कुन शिर्षकमा खर्च भएको छ सो कोे विवरण, लेखा परिक्षण, सामाजिक लेखा परिक्षण आदि उपलब्ध गराउन भनिएको छ ।

अख्तियारको पछिल्लो पत्र प्राप्त गरेको दुई सातापछि पनि औरही गाउँपालिकाका प्रशासकिय अधिकृत अशोक यादवले पत्र ड्राफ्ट गर्नै लागेको जानकारी दिए । जबकी श्री मावि परवाहा देउरीका वर्तमान प्रधानाध्यापक शशिकुमार सिंहले आफूले पालिकालाई विद्यालयको तर्फबाट जवाब पठाईसकेको जानकारी दिए ।

उनले भने,‘म्यासेन्जरमा विद्यालयमा भएको अनिमितताको विषयलाई लिएर अख्यितारले पठाएको पत्र प्राप्त गरेको थिएँ सोही अनुरुप आफूले औरही गाउँपालिकाको शिक्षा संयोजकलाई जवाफ पठाईसकेको छु ।’

यद्यपि आधिकारिक रुपमा अहिले पनि पालिकाको तर्फबाट पत्र प्राप्त नभएको सिंहले बताए ।