जनकपुरधाम, ४ फागुन । एमसीसीको विरोधमा आज आह्वान गरिएको नेपाल बन्दको प्रभाव मधेस प्रदेशमा न्यून देखिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव मधेस प्रदेशको राजधानी जनकपुरधामलगायतका क्षेत्रमा न्यून देखिएको हो ।

बजारक्षेत्रमा सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार, पसल तथा शैक्षिक संस्थाहरु पनि खुल्ला रहेका छन् ।

माँ जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जनकपुरधाम भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जानकारी दिए ।

उनले छोटो दूरीका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भईरहेपनि पश्चिमबाट जनकपुरधाम भित्रिने सवारी साधनहरु भने जनकपुरधामसम्म नआएको बताए ।

यसैबिच, एमसीसीको विरोध गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका विप्लब समूहका २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका–१० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा नारा जुलूससहित यातायात बन्द गराउन खोज्दा विप्लव समूहका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको बस्नेतले बताए ।