जनकपुरधाम, २ फागुन । कमिशन र कोटेसनमैं व्यस्त स्थानीय सरकारले चुनावताका घोषणा गरेका सबै सपनाहरू त्यसै खेर गएका छन् ।

लालकिशोर साह जनकपुरधाम उपमहानगरपालिकाको मेयर बनेपछि उनका पछिल्ला क्रियाकलापले जनकपुरवासीका सबै आशा र अपेक्षामा ठूलै कुठाराघात भएको छ । हिजोको सरल जीवन निर्वाह गरेका साह मेयर बनेपछि सुख–सयल, भोग–विलास र मोजमस्तीमा केन्द्रित देखिएका छन् । नगरवासीले मेयरम ‘गिरगिट’ प्रवृत्ति देखिएको टिप्पणी गर्न थालेका छन् । रंग परिवर्तन गर्ने छेपारा प्रवृत्तिलाई स्थानीय भाषामा गिरगिट प्रवृत्ति भन्ने गरिन्छ ।

‘उनको कार्यालयको कार्यकक्षमा रहेको शौचालयसम्म एयर कन्डिसन (एसी) जडान गर्न लगाउनु, शौचालयलाई अत्याधुनिक बनाउन पटक–पटक मर्मतसम्भार गर्न लगाउनु, पुरानो गाडी हुँदाहुँदै डेढ करोडभन्दा पनि महंगो ‘फोर्ड’ गाडी किनेर चढ्नु, विगतको निजी निवास हुँदाहुँदै बहालमा कोठा लिएर कोठाभित्र आन्तरिक सजावटमा मात्रै लाखौं रुपैयाँ खर्चिनु, महंगो मोवाइल बोक्नु आदिले पनि उनको जीवनशैलीमा कतिसम्म फरक आएको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ,’स्थानीय राजकिशोर ठाकुरले भने ।

उनले भने,‘हिजो मेयर नबन्दासम्म उनको बोलीमा अत्यन्तै मिठास हुन्थ्यो । जो कोहीसँग पनि सजिलै घुलमिल हुन्थे । तर, अहिले उनी पूरै फेरिएका छन् । जनतासँग सिधा संवाद छैन । जनता सेवाग्राही बनेर उनको कार्यकक्षमा पुग्दा उनको रवाफ हिट्लर शैलीभन्दा कम हुँदैन । जनतालाई आफ्नै टेबुल अगाडि घण्टौ उभ्याउने उनको बानी नै बनेको छ । सेवाग्राहीसँग झर्केर कुरा गर्ने प्रवृत्ति लगायतका कारण हिजोसम्म उनका सहयोगी रहेका व्यक्तिसँग नै अहिले उनको सम्बन्ध बिग्रिएको छ ।’

जनकपुरधाम–७ बस्ने नविन झा भन्छन्,‘सबैभन्दा ठूलो झट्का त मतदातालाई लागेको छ । हिजो जसले लालकिशोरलाई मतदान गरेर मेयर बनाए, आज तिनै मतदाता उनीबाट उपेक्षित भएका छन् । भ्रष्टाचारमा उनी चुर्लुम्म डुबेका छन् । पाइला–पाइलामा उनले भ्रष्टाचार गरेका तथ्यहरू पत्रपत्रिकादेखि सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा छ्याप्छयाप्ती देखिएका छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा होस् वा अन्य विकास निर्माणमा । सबैजसो योजनामा प्रायः अनियमितता भएको पाइन्छ । जनताले सूचना पाउन सकिरहेका छैनन्, काम कारवाहीबारे कुनै पनि पारदर्शिता छैन । नियम विपरीत, प्रक्रिया विपरीत सबैजसो नगर स्तरीय योजनाहरू उनले आफ्ना छोरा, भान्जा, भतिजादेखि आफन्तलाई कोटेसनमा दिएर व्यापक अनियमितता तथा भ्रष्टाचार गरेको कुरा विपक्षी राजनीतिक दलबाट आवाज उठिरहेको छ ।

‘उनको जीवनमा त अत्यन्तै परिवर्तन आएको छ । तर, जनकपुरको समस्या ज्यूँका त्यूँ छन् । अत्यन्तै फोहोर शहरको दाग मेटाउन सकिएको छैन । लामखुट्टेको प्रकोप न्यूनिकरण गर्न सकिएको छैन । शहरमा सुशासन छैन । विकासले गति लिन सकेको छैन । भइरहेकै कामहरू एकदमै गुणस्तरहीन छन् । कमिशनखोरी र घुसखोरी त्यत्तिकै बढेको छ,’स्थानीय राघवेन्द्र चौधरी भन्छन् ।

उनले भने,‘हिल्लामे शहर, फोहोर शहर, धुलाम्मे शहरको रूपमा बद्नाम भएको दागलाई मेटाउन कुनै ठोस काम भएको देखिँदैन । उचित ढल व्यवस्थापन छैन । पानीको निकास छैन । महिनौंदेखि जनताले खानेपानीको सुविधा पाउनबाट वञ्चित छन् । यस्ता साना–साना समस्या त समाधान गर्न सकिएको छैन भने अन्य ठूल–ठुला समस्या समाधानको कुरै आउँदैन ।’

उपमहानगरको कार्यालय परिवारवादको अखाडा

मेयर साहले उपमहानगरको कार्यालयलाई परिवारवादको अखाडा बनाएको आरोप लागेको छ ।

मेयर साहले उपमहानगरमा आफ्ना आफन्तलाई नियुक्ती दिएर कार्यालयलाई परिवारवादको अखाडा बनाएको आरोप लागेको हो ।

नगरप्रमुख साहले आफ्नो नातामा पर्ने वा नजिकको नाता रहेको दिपेश साह, अमित साहलाई नगरपालिकाको कार्यालयमा नियुुक्ति दिएका हुन् । त्यस्तै उपमहानगरबाट ठेक्कापट्टाको काम हेर्नका लागि नातामा भान्जा पर्ने अरुण साहलाई समेत मिलाएर राखेका छन् ।

उपमहाननगरको कार्यालयमा अन्य पदहरुमा करारमा उनीहरुलाई राखिएपनि नगरप्रमुख साहको कमिशन असुलीमै यिनीहरु व्यस्त हुन्छन् । उपमहानगरका कामहरुमा हुने भ्रष्टाचार तथा अनिमिततालाई ढाकछोप गर्नकै लागि नगरप्रमुख साहले नातेदारहरुलाई करारमा राखेर कमिशन असुली गर्ने एजेण्टको रुपमा प्रयोग गर्दै आइरहेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए ।

दिपेशलाई उपमहानगरमा कम्प्युटर अपरेटरमा करारमा राखिएको छ तर उनलाई नगरप्रमुख साहले स्वकिय सचिवको रुपमा प्रयोग गर्नुका साथै उपमहानगरबाट पर्यटन सम्बन्धि हुने कामको जिम्मा समेत दिइएको छ । अमितलाई नगरप्रहरीमा नियुक्ती दिएएपनि उपमहानगर भित्रको कुनै पनि कर्मचारीलाई जिन्सी फाँटको जिम्मा नदिई नगरप्रमुख साहले सो फाँटको जिम्मा उनलाई नै दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले दिपेशलाई नगरप्रमुख साहले स्वकिय सचिवको रुपमा प्रयोग गर्दै आएपनि तलब भने कम्प्युटर अपरेटरकै लिइरहेका छन् । त्यस्तै,अमितलाई नगरप्रहरीको रुपमा राखिएपनि कर्मचारी अभावका कारण जिन्सी फाँटको जिम्मा लगाइएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए ।

स्रोतका अनुसार स–साना कमिशनको रकम असुलीका लागि अन्य व्यक्तिलाई प्रयोग गरिएपनि ठूलो कमिशनको रकमको डिलिङ्ग भने दिपेशले नै गर्छन् । यसका साथै ठूल–ठूलो ठेक्का पट्टाका लागि भान्जा अरुणलाई प्रयोग गर्दै आईरहेका छन् ।

आफूविरुद्ध कुनै किसिमको स्वर उपमहानगरको कार्यालय भित्र नसुनियोस भन्ने उद्देश्यले नगरप्रमुख साहले यी व्यक्तिहरुलाई आफ्नो सुरक्षाका लागि करारमा नियूक्ती दिएको कर्मचारीहरु बताउँछन् ।