प्राविधिक अवस्था बुझ्न आइतबारदेखि रेल सञ्चालन हुँदै

जनकपुरधाम, २९ माघ । आइतबारदेखि रेल सेवा सञ्चालन हुन लागेको छ ।
नेपाल रेल्वे कम्पनीले यात्रुबिना इनर्वादेखि कुर्था र कुर्थादेखि इनर्वासम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्न लागेको हो ।
तत्काल एक हप्तासम्म यात्रुबिनाको रेल चलाउन लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनले भने,‘आइतबारदेखि करिव एक हप्तासम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको छ । धेरै दिनदेखि थन्काएर राखिएकोले रेल्वेको प्राविधिक अवस्था बुझ्न हामीले यात्रुबिनाको रेल चलाउन लागेका हौं ।’
लिकमा हाटबजार र आवतजावतमा समेत रोक लगाइएको जानकारी दिंदै उनले पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत सर्वसाधारणलाई जानकारी गराईसकिएको बताए ।
महाप्रबन्धक झाले भने,‘तालिम लिएका ५९ जना नेपाली कर्मचारी र १४ जना भारतीय कर्मचारी आइतबारदेखि काममा खटनेछन् । १२ जना भारतीय कर्मचारी भने उद्घाटनपछि आउने छन् ।’
उनले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाइसकिएको जानकारी दिए । रेल्वे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको महाप्रबन्धक झाले बताए ।
उनले आइतबार बिहान १० बजे इनर्वाबाट चल्ने रेल्वे बिहान ११ बजेसम्म जनकपुरधाम आइपुग्ने जानकारी दिए ।
‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ,’ महाप्रबन्धक झाले भने, ‘आइतबारदेखि उद्घाटन नहुँदासम्म विनायात्रु प्रत्येक दिन एकपटक इनर्वाबाट कुर्था र कुर्थाबाट इनर्वासम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’
उद्घाटनको मिति चाँडै टुंगो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।
रेल उद्घाटनपछि सुरुका एक हप्तासम्म दिनको एकपटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।
गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


