जनकपुरधाम, २८ माघ । संघीय सरकारले जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्नका लागि तत्काल २१ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिए ।

१६ महिनादेखि त्रिपालमूनि थन्किएर बसेको रेल चलाउन कम्पनीले ३५ करोड रुपैयाँ मागेपनि अर्थले तत्कालका लागि २१ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको महाप्रबन्धक झाले बताए ।

उनले भने, ‘गत वर्ष नै मन्त्रिपरिषद्ले रेल्वे कम्पनीलाई ४५ करोड रुपैयाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको हो ।’

उनले रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपैयाँ तिर्नुपर्ने जानकारी दिए ।

उनले अहिले स्रोत सुनिश्चित भएको रकममध्ये केही रकम सो कम्पनीलाई भुक्तानी गरेर तत्काल काम अगाडि बढाइने बताएका छन् ।

२०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

लामो समयदेखि त्रिपालमुनी थन्किएका रेलको गत पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो ।