जनकपुरधाम, २७ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० रुपैठामा ऐलानी जग्गामा वडाध्यक्षले भोगचलनका लागि सिफारिश गरेको पाइएको छ ।

रुपैठास्थित नवकी पोखरीको छेउमा रहेको ऐलानी जग्गामा वडाध्यक्ष भोगेन्द्र झाले भोगचलनका लागि एक व्यक्तिलाई सिफारिश गरेको पाइएको हो ।

रुपैठाका रामसुन्दर पण्डितले वर्षौंदेखि सो जग्गा सार्वजनिक रहेको र वडाध्यक्ष झाले आर्थिक चलखेल गरेर भोगचलनका लागि अधिकार दिएको आरोप लगाएका छन् ।

गाउँका स्थानीयहरु एक कठ्ठाको सो ऐलानी जग्गामा वर्षौंदेखि फोहोर फाल्दै आएका थिए । तर स्थानीय फौदार महतो नुनियाले एकाएक सो जग्गामा छेकवार गरेपछि फौदारको नाममा वडाध्यक्षले भोगचलनका लागि सिफारिश गरेको उनले बताए ।

रुपैठाकै कमलेश साहले वडा सचिवबाट समेत जर्बजस्ती सो कागजमा सिफारिश गराउन लगाइएको आरोप लगाए । यता केही स्थानीयहरुले नवकी पोखरीको छेउमा रहेको सो सार्वजनिक जग्गाको विषयलाई लिएर न्यायिक समितिमा पुग्दा वडाध्यक्षले सो जग्गा निजि व्यक्तिलाई भोगचलनका लागि सिफारिश गरेको पाइएको उनले बताए ।

सो जग्गाको सिफारिश सम्बन्धमा आफूलाई कुनै किसिमको जानकारी नरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० का वडा सचिव अनिलकुमार मिश्रले बताए ।

यसैबिच, गाउँमा स्थानीयहरुले सो सार्वजनिक जग्गाको विषयमा दवाब बढाउन थालेपछि वडाध्यक्ष झाले फौदार महतोको नाममा सिफारिश गरिएको भोगचलनको पत्र रद्द गरि दिनका लागि पुनः अर्को पत्र काटेका छन् ।

उनले जनकपुरधाम उपमहानगरपालिकालाई लेखेको पत्रमा भूलवश सो जग्गा फौदार महतोको नाममा भोगचलनको सिफारिश सहितको पत्र काटिएको उल्लेख गरेका छन् ।