जनकपुरधाम, २६ माघ । बुधबार बसेको मधेस प्रदेशको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न भन्दै संघ सरकारलाई दवाव दिने उद्देश्यले संकल्प प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै मन्त्री साहले संकल्प प्रस्ताव पेश गरेका छन् । मन्त्री साहले माघ २३ गते प्रदेश सभामा सो प्रस्ताव दर्ता गराएका थिए ।

उनले प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेश सभा नियमावली, २०७५ को नियम ८५ (१) बमोजिम सो प्रस्ताव पेश गरेको बताए ।

मन्त्री साहले भने, ‘संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुरक्षाको अधिकारको जिम्मा प्रदेश सरकारलाई दिएको छ तर यसमा पनि केन्द्र सरकारले आनाकानी गरिरहेको छ ।’

प्रदेश सरकारले प्रहरी सम्बन्धी ऐन बनाइसकेपछि केन्द्रले खाइआएको सेवा सुविधाका कारण आनाकानी गरिरहेको भन्दै दबाब दिनका लागि प्रदेश सभामा पुनः संकल्प प्रस्ताव दर्ता गराउनु परेको मन्त्री साहले बताए ।

तीन वर्षदेखि प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको उनको आरोप छ ।