जनकपुरधाम, २४ माघ । महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पती हत्या घटनाको करिव १० महिना पश्चात सो हत्याकाण्डमा प्रहरीको फितलो अनुसन्धानका कारण निर्दोष व्यक्तिलाई पनि दोषी बनाइएको आरोप लगाइएको छ ।

जिल्ला अदालत महोत्तरी र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका हुन् ।

ठाकुरकी पत्नी रेणु ठाकुर र छोरा केशवले हत्याको मुख्य कारण भनिएको मृतक मुसाफिर झाको विवादित जग्गा भएकै ठाउँमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी हरेन्द्र निर्दोष रहेको दाबी गरेका छन् ।

प्रहरीले जानीजानी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रका छोरा केशवले आरोप लगाए । जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पती हत्या गराएको प्रहरीको दावीमा कुनै आधार नरहेको केशवको दावी छ ।

उनका अनुसार मुसाफिरको १४ कठ्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर–५ सहोडवाको कित्ता नम्बर ४१८ मा रहेको छ । सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको हरेन्द्रको पोखरी छ । यसका साथै हरेन्द्रले त्यहीँ १८ विघामा प्लटिंग गरेका छन् । प्लटिंगमा माटो पुर्ने काम त्यही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए ।

प्रहरीका अनुसार सो प्लटिंगबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यकता हरेन्द्रको थियो । जसका लागि मुसाफिरलाई जग्गा बेच्न दवाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या गर्न लगाइएको प्रहरीको दावी छ ।

यद्यपि प्रहरीको दावीमाथी प्रश्न उठाउँदै केशवले भने,‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तर तर्फ कित्ता नम्बर ९५ को विद्यालयको जग्गा, कित्ता नम्बर ९६ को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा पर्छ, मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनु पर्ने आवश्यक्ता थियो ।’ उनले अगाडी भने ‘मेरो बुवाले यहाँ प्लटिंगको कामको प्रगति नदेखेर यहाँको काम बन्द गरेर ४ वर्ष अगाडी नै काठमाडौँमा काम शुरु गरेका थिए ।’

प्रहरीले हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको भनेको थियो । यद्यपि हरेन्द्रको परिवारका अनुसार प्रहरीले उनलाई काठमाडौँबाटै पक्राउ गरेको थियो ।

हरेन्द्रको मुद्दा लड्दै आइरहेका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई नै फितलो बनाएको आरोप लगाएका छन् । उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसंग हरेन्द्र न कहिल्यै फोनमा कुरा भएको र न कहिल्यै भेट भएको दावी गरे ।

उनले भने,‘प्रहरीले अनुसन्धान कमजोर बनाउनका लागि रामजी यादव, संतोष यादव, राममणिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममणिषको कल डिटेलको रेकर्ड मिसिलमा शामिल गरिएको छैन ।’

मृतक दम्पतिको बुहारी अंशु झा, उषा झा, तारादेवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेष्टको रिपोर्ट मिसिलबाट गायब गरिएको अधिवक्ता निरालाले दावी गरे ।

अदालतमा दिइएका बयानहरुमा मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको नाममध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता निरालाले बताए ।

गत वर्ष भएको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका ३ जना आरोपिलाई केही दिन अगाडी मात्रै उच्च अदालत जनकपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । गत महिना पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही ५÷५ लाख धरौटीमा छोड्न आदेश दियो । सुरेन्द्र र राजेन्द्र दूबै दाजुभाई हुन् ।

यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा रिहा गरिसकेको छ ।

हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँ बस्ने ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो । हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा फेला पारिएको थियो ।

झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । जसमध्ये ५ जनालाई धरौटीमा छाडिसकिएको छ भने बाँकी ३ जनालाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडी बढाउन भनिएको छ ।

प्रहरीले झा दम्पतिको शव फेला पार्नु अघि गत वर्ष चैत ५ गते सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा र उनको छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको शव प्रहरीले पिपरा गाउँपालिका–२ स्थित अतरार जाने बाटोमा गत चैत १२ गते ३२ दिनपश्चात् फेला पारेको थियो ।

दुवैजनाको शव माटोमा गाडिएको अवस्थामा बरामद भएको थियो । उनका छोरा मनीषकुमार झाले बुबाले लगाएको कपडा र आमाको चुरा, साडी, पोतेलगायत सामान देखेर शवको खनाखत गरेका थिए । हालसालै भरिएको माटो खन्दै गएपछि झा दम्पतीको कंकाल र लत्ताकपडा फेला परेको थियो ।

प्रहरीले झा दम्पतीको खोज तलास गर्न डग स्निफिङ, सूक्ष्म निगरानी, वरपरको घरहरूको तलासी, ५४ वटा साना–ठूला पोखरी तथा पानी जमेको खाल्डा, सम्भावित स्थान, नदी, बगैँचा, नहर र पुलसमेतमा खोज तलास र ठूला पोखरीमा दुईवटा डुंगासमेतको प्रयोग गरी खोज तलास गरेको थियो । प्रहरीले भारतीय सीमामा रहेका प्रहरी युनिटसँग समन्वयसमेत गरेको थियो ।

२०७७ साल फागुन १० गते राति घरमा सुतिरहेका मुसाफिर र गीता देवीको ओछ्यानसहित अपहरण गरिएको थियो ।

मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–१ वगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए । फागुन ११ गते मंगलबार सोही जग्गा विवादसम्बन्धी फैसला जिल्ला अदालत महोत्तरीले सुनाउने तयारी गरेको थियो । तर, १० गते राति नै झा दम्पतीको अपहरण गरियो ।

महोत्तरीको बगडामा रहेको ४ बिघा मोही जग्गा विवादमा मुसाफिर झा साक्षी बसेका थिए, त्यहाँका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटक–पटक आउँथे । त्यो दिन पनि आएका थिए, ११ गते फैसला आउने भएकाले उनीसँगै मुसाफिर बाहिर गएका थिए । त्यो दिन मुसाफिर घर फर्केर पनि आए । सबै ठीक थियो । तर, त्यसै राति मुसाफिरसँगै उनको पत्नीको समेत अपरहण गरियो ।

महोत्तरी प्रहरीले दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपञ्चायत तरैया वडा नम्बर–२ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–६ बनौली बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

सिआइबीले अनुसन्धान थालेको २ दिनपश्चात् चारैजनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको थियो । पक्राउ परेका चारैजना आशंकित व्यक्तिहरूको पोलिग्राफ गर्दा निजहरूले झुटो बोलेको प्रतिवेदन प्राप्त भएको थियो ।

हरेन्द्र ठाकुरको ०७७ फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थिति रहेको र घटना भएको राति पटक–पटक अस्वभाविक रूपमा कुराकानी भएको, गतिविधि शंकास्पद रहेको प्राविधिक अनुसन्धानमा देखिएको थियो ।